काठमाडौं — देशकै जेठो बैंक नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३१ दशमलब ४० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकले खुद नाफा २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ । बैंकले असार मसान्तसम्ममा खुद ब्याज आम्दानी १४ दशमलब ९८ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको देखिंदा अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड ८८ लाख १९ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९ दशमलब ०१ प्रतिशतले बढेर ८८ करोड ८२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यसैगरी बैंकको सञ्चालन मुनाफा २८ दशमलब ३५ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ३४ लाख २४ हजार रुपैयाँ पुगेको छ । कुल सञ्चालन मुनाफामा १४ दशमलब ७२ प्रतिशत बढेर ८ अर्ब २२ करोड ७५ लाख ७१ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ५८ दशमलब २० प्रतिशत बढेर ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष ९ दशमलब ९९ प्रतिशत बढेर २० अर्ब ६२ करोड १९ लाख ५९ हजार रुपैयाँ, निक्षेप १४ दशमलब ९९ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ र कर्जा ३० दशमलब २३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ५३ करोड ६१ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८ दशमलब २६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ६३ रुपैयाँ १९ पैसा रहेको नेपाल बैंकको तथ्याङ्कमा उल्लेख छ ।