काठमाडौं – देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले देशको अहिलेको मौद्रिक नीति तय गरेको छ । आज बसेको केन्द्रीय बैंकको सञ्चाकल समितिले मौद्रिक नीति तयार गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले पास गरेको मौद्रिक नीतिलाई आज अपरान्ह सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ ।


वर्तमान सरकारले ओली सरकारले अध्यादेशमार्फत् ल्याएको आ.व. २०७८।०७९ को बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर परिमार्जन गर्ने बताए पछि नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । पूर्ववर्ति ओली सरकारले ल्याएको बजेटको आधारमा मौद्रिक नीति सार्वजनिक गर्न हच्चिएको केन्द्रीय बैंकले साउन पहिलो साता मै मौद्रिक नीति तयार पारिसकेको थियो । तर असार अन्त्यमा सरकार परिवर्तन भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने आँट गर्नुभएन ।


नयाँ सरकार गठन भएपछि केही कुरालाई परिमार्जन गरेर मौद्रिक नीति सार्वजनिक गर्न लागिएको बताइन्छ । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको सूची पनि सार्वजनिक गरिसकेको र प्रतिनिधिसभाको अर्थ समितिले समेत आफ्ना तर्फबाट मौद्रिक नीतिमा सुझाव दिएको हुँदा ती कुराहरुलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले बताएको छ । देशको मौद्रिक नीति निर्माणका क्रममा निजी क्षेत्रका बैंकहरुले आफ्नो स्वार्थ पूरा हुनेगरी राष्ट्र बैंकलाई बेलाबेलामा दवाव दिंदै आएका पनि छन् । आज आउने मौद्रिक नीतिले देशको आर्थिक विकासमा कस्तो खालको प्रभाव पार्नेछ त्यो मौद्रिक नीति सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।