काठमाडौं – नेपाली निजी क्षेत्रको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा दुई अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको मेगा बैंकको वितरण योग्य नाफा एक अर्ब ५१ करोड रुपैयाँ गरेको छ । बैंकले एक खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दा एक खर्ब ३७ अर्ब रुपैयाँ विभिन्न शिर्षकमा ऋण लगानी गरेको जनाएको छ ।

बैंकको निक्षेप ७ दशमलब ४ प्रतिशत र कर्जा प्रवाह २४ दशमलब २८ प्रतिशतले बृद्धि भएको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसाबाट बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ ।