फाइल तस्बिर – रोयटर्स
काबुल– अफगानिस्तानमा पछिल्लो एक हप्तादेखि तालिवान विद्रोहीहरुले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दै जाँदा मुख्य प्रान्तीय दशवटा शहरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएको तालिवान लडाकुले पछिल्ला दिनमा मुख्य शहरलाई पनि आफ्नो कब्जामा लिन सफल हुँदै आएको छ ।


अमेरिकी तथा नेटोका सैन्य दस्ताले अफगानिस्तान छोड्न थालेपछि तालिवानी लडाकुहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्दै आएका छन् । अफगानी सरकारी सेनाले तालिवानी विद्रोहीहरुलाई नियन्त्रणमा लिन असफल बन्दै जाँदा तालिवानी लडाकुहरुले आफ्नो प्रभाव प्रान्तीय मुख्य शहरहरुमा कब्जा जमाउन सफल भएका हुन् ।


यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानीलाई तालिवानी लडाकुहरुले आफ्नो नियन्त्रणमा लिएका छन् । उक्त शहरलाई आफ्नो कब्जामा लिएको तालिवानीले जनाएको छ । उक्त कब्जामा लिएको शहर देशको राजधानी काबुलबाट करिब १ सय ५० किलोमिटर टाढा छ ।


तालिबान लडाकुले अफगानिस्तानको ३४ प्रान्तमध्ये अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । तालिवानी लडाकुहरुले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये बाँकी २४ शहरलाई पनि नियन्त्रणमा लिने प्रयास गर्दै लडाईं जारी रहेको बताएको छ । यद्यपि, सरकारले भने अफगानी सरकारी सुरक्षाबल अहिले पनि तालिवानले नियन्त्रणमा लिएको भनिएका क्षेत्रमा रहेको बताएको छ ।
सरकारी अधिकारीले भने, ‘सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ।’


अपगानिस्तानमा सरकारी सेना र तालिवानी लडाकुहरुबीच भएको दोहोरो भिडन्तका कारण हजारौं मानिसहरु विस्थापित हुनुको साथै बालबालिका सहित कयौं सर्वसाधारण नागरिकहरुले ज्यान गुमाएका छन् । तालिवान लडाकुहरुले करिब एक महिना अघि वर्तमान राष्ट्रपतिले सत्ता नछोड्दासम्म देशमा शान्ति बहाली नहुने बताएका थिए ।

यसैबीच तालिवानले अफगानिस्तानको दोस्रो मुख्य शहर कान्धार पनि कब्जा गरेको दाबी गरेको छ । तालिवानी विद्रोहीका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गर्दै ठूलो जित भएको उल्लेख गरेका छन् । तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो समेत सार्वजनिक गरेको छ । उक्त भिडियोमा ठूलो सङ्ख्यामा कैदी बन्दीहरु मुक्त भएको देखिन्छन् । उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेका थिए । जेलबाट मुक्त हुनेहरुमध्ये ठूूला अपराधमा सम्लग्न भएको तालिवानका सदस्य र उसका समर्थकहरु रहेको समाचारहरुमा जनाइएको छ ।

अफगानी सरकारले देशको मुख्य प्राप्तहरु गुमाउँदै जाँदा तालिवानी लडाकुहरुले मुख्य शहरहरुमा कब्जा जमाउँदै गएका छन् । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिवानी लडाकुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्दै लगेका हुन् । त्यहाँको सरकारी सेना कमजोर बन्दै गएको देखिन्छ । अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिवान लडाकुहरुले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरुलाई आफ्नो नियन्त्रणमा लिंदै गउका छन् । अहिलेसम्म कान्धारसहित तालिबानले ११ बटा प्रान्तीय शहरहरुलाई कब्जामा लिइसकेको हुँदा अब देशकै राजधानी काबुल पनि उनीहरुले छिटै आफ्नो नियन्त्रणमा लिन सक्ने अनुमान गर्न थालिएको छ । एएफपी