काठमाडौं – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा जारी गरेको यथार्थपत्रमा अनुकूलको तथ्याङ्क प्रस्तुत गरिएको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सबैभन्दा प्रतिकूल र अनुकूल अवस्थासँग तथ्याङ्क दाजिएको र तथ्याङ्क थपघट हुनुको कारण नखुलाइएको टिप्पणी गर्नुभएको हो ।

‘कोरोना अवधिको वृद्धिदरको सहारा लिएर आर्थिक वर्ष ०७५–७६ मा भएको ७ प्रतिशतको वृद्धिदरलाई बिर्सन खोजिएको छ,’ पौडेलले भन्नुभयो । नेपालको अर्थतन्त्र राजस्वले चालु खर्च धान्ने र विकास खर्चका लागि ऋण लिनुपर्ने अवस्था रहेको भन्दै पौडेलले, ‘ऋण नलिने र विकास नगर्ने होइन, ऋण लिने विकास पनि गर्ने हो ।’ ऋण लियो कि लिएन भन्दा पनि ऋणको सदुपयोग भयो कि भएन भनेर हेर्नुपर्ने बताउनुभयो ।

कोरोना महामारीकै कारण विकास खर्च हुन नसकेको भन्दै पौडेलले श्वेतपत्रमा त्यसलाई उल्लेख नै नगरिएको उल्लेख गर्नुभयो । पौडेलले सार्वजनिक ऋण विकास खर्चमा मात्र लगाएको दाबी गर्नुभएको छ । पौडेलका अनुसार, ‘अघिल्लो सरकारले जिम्मा लिनुपूर्व पुनर्निर्माणमा ३३ अर्ब मात्र खर्च भएको थियो, अहिलेसम्म ४ खर्ब खर्च भएको छ, जसमध्ये २ खर्ब ऋण हो ।’