लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहनुभएका केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्रीको आजै ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय भइसकेको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्जीवि पौडेलले ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

केसीलाई काङ्ग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ । आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए । शंकर पोखेरलको बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित हुनुभएको थियो । प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी रहेको छ ।