काठमाडौं – कोभिड १९ विरुद्धको खोप खरीदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त रकम १ करोड ५९ लाख मात्रा (डोज) कोभिड विरुद्धको खोप किन्न प्रयोग हुने छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उहाँले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गर्न र आर्थिक एवम् सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने उल्लेख गर्नुभयो ।

कोभिड १९ को सङ्क्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बंैकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिनुभएको छ । यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन अर्थ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।