लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिनु भएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको हो ।

आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने बताइएको छ । गत १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले आज राजीनामा दिनुभएको हो । उहाँविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उहाँले राजीनामा दिनुभएको हो । विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको छ ।