काठमाडौं – सरकारले पछिल्लो तीन वर्षको आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउन लागेको बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको आर्थिक परिदृष्यको विवरण ’श्वेतपत्र’ आज संसदमा पेस गर्ने तयारी गर्नुभएको छ ।

संसद सचिवालयले आजको संसद बैठकका लागि तयार पारेको सम्भावित कार्यसूचीमा स्वेतपत्रको विषय समावेश गरिएको छैन । अर्थ मन्त्रालयका अधिकारीहरूले भने आजको बैठकमा श्वेतपत्र पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार सचिन रोकाले आजको बैठकमा श्वेतपत्र पेस गर्ने तयारी भइरहेको जानकारी दिँदै यो विषय संसदको संशोधित कार्यसूचीमा भरपर्ने बताउनुभयो ।

अर्थमन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री शर्माले वर्तमान अवस्थाको चित्रण गर्ने गरी ’यथार्थपरक श्वेतपत्र’ सार्वजनिक गर्ने बताउनुभएको थियो ।