काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको आज बसेको बैठकले अक्टोवर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

बङ्गलादेशले कोरोना भाइरसको महामारीका कारण साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण आफुले आयोजना गर्न नसक्ने बताएपछि सो प्रतियोगिता आयोजना गर्न नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै देशको प्रस्तावलाई बैठकमा छलफल गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले बताएको छ ।

कोरोना महामारीका कारण अहिले नेपालभन्दा माल्दिभ्सको अवस्था केही राम्रो रहेकाले माल्दिभ्समा आयोजना गर्न सहमति जनाएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । माल्दिभ्स साफ फुटबल प्रतियोगिताको १२ संस्करणको विजेता पनि हो । सन् २००८ देखि सुरुभएको साफ फुटबल प्रतियोगिताको पहिलो संस्करण माल्दिभ्स र श्रीलङ्काले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफको आयोजना गरिसकेको छ ।

यस पटक साफको १३ संस्करणमा नेपाल लगायत पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र आयोजक राष्ट्र माल्दिभ्सले खेल्ने पक्का भएको छ । पाकिस्तान भने फिफाको प्रतिवन्धमा रहेकाले साफमा सहभागी हुने छैन भने भुटानले पनि सहभागिताबारे ३ दिन पछिमात्र निर्णय गर्ने एन्फाले जनाएको छ ।

भारतले अहिलेसम्म सर्वाधिक ७ पटक साफ उपाधि जितेको छ भने नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । नेपालले साफका लागि तयारी शुरु गरिसकेको छ । साफ तयारीको लागि भारतसंग नेपालले दुई मैत्रिपूर्ण खेल खेल्ने भएको छ । नेपालको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुनेछ ।