फोटो , एयफपी

काबुल– तालिवानी लडाकुहरुले अफगानिस्तानको कुन्दुज शहरलाई आफ्नो नियन्त्रणमा लिएको छ । पछिल्लो समय आक्रमणलाई तिब्र बनाउँदै लगेका तालिवानी लडाकुहरुले हिजो एकै दिन तीन वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएका छन् । तालिवानी लडाकुहरुले आफ्नो प्रभाव क्षेत्रलाई विस्तार गर्नेक्रममा एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेका हुन् ।

देशको ग्रामीण क्षेत्रलाई आफ्नो कब्जामा लिएपछि तालिवानी लडाकुहरुले मुख्य शहरमाथि धावा बोल्दै आएका थिए । उनीहरुले अफगानिस्तानको वर्तमान राज्य सत्तालाई विस्थापित गरेर सत्तामा पुग्ने रणनीतिक योजना अनुसार नै तालिवानी लडाकुहरुले लामो समयदेखि देशमा गृहयुद्ध गर्दै आइरकेका छन् । यसैक्रममा उनीहरुले ग्रामीण क्षेत्र हुँदै अब शहर पसेका छन् । तालिवानीले आइतबार उत्तरी शहर कुन्दुजसहित सर–ए–पुल र तालोक्वानलाई आफ्नो कब्जामा लिएका छन् ।

शनिबारमात्र तालिवानी लडाकुहरुले देशको उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्जलाई आफ्नो कब्जामा लिएको थियो । अफगानिस्तानमा एक हप्ता अघिदेखि तालिवान लडाकुहरुले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका छन् । तालिवानहरुले यस अवधिमा देशका पाँच मुख्य शहरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् । यसबाट अफगानिस्तानको सुरक्षा बलले बिद्रोही समूहलाई नियन्त्रण गर्न नसक्दा उमाथि नै गम्भीर धक्का लाग्न पुगेको छ ।

तालिवानी लडाकुहरुले नियन्त्रणमा लिएको कुन्दुज शहर रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको छ । यो शरह अरु महत्वपूर्ण केन्द्रहरुसँग जोडिएको छ, जसमा केन्द्रीय राजधानी काबुल पनि पर्छ । दुई दशकदेखि अफगानिस्तानमा शान्ति स्थापना गर्ने नाममा अमेरिका र नेटोका सैनिकहरुले गस्ति गर्दै आएका छन् । त्यहाँको वर्तमान सरकारलाई अमेरिका र नेटाका सेनाहरुको साथ र सहयोग रहँदै आएको छ । आगामी सेप्टेम्बर ११ तारिखम्ममा अमेरिकी तथा नेटोमा आवद्ध सैनिकहरुले अफगानिस्तान छोड्ने भैसकेको छ । त्यहाँ रहेको विदेशी सैनिक फिर्ता हुने थालेपछि अफगानिस्तानमा तालिवान लडाकुहरुले आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् ।

त्यहाँको सरकारी सेनाले आफ्नो पकड गुमाउँदै गएको छ । तर अफगानिस्तानी सरकारले भने आफ्ना सैनिकहरुले शहरहरु पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको बताएको छ । पश्चिमी शहर हेरात, दक्षिणी शहर कान्दाहर तथा लश्कर गाहमा पनि सरकारी सेना र तालिवानी लडाकुहरुबीच दोहोरो गोलि हानहान र भिडन्त भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उधृत गरेका छन् । अफगानी सेना र तालिवान लडाकुहरुबीचको लडाईंले त्यहाँका हजारौं निहत्था नागरिकहरु विस्थापित हुँदा घरबार विहिन हुन पुगेका छन् । बालबालिकासहित परिवारहरुले विद्यायल तथा स्थानीय सार्वजनिक भवनहरुमा शरण लिएका छन् ।