काबुल– अफगानिस्तामा पछिल्लो समय तालिवानी लडाकुहरुले आफ्नो प्रभावक्षेत्र विस्तार गरेका छन् । यसैअनुसार तालिवानीहरुले दोस्रो प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिवानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहरलाई आफ्नो नियन्त्रणमा लिएको बताएका छन् । यसअघि पनि शुक्रबार तालिवानी लडाकुहरुले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जा लिएको थियो ।

यता अफगानिस्तानी रक्षा मन्त्रालयले भने तालिवानी लडाकुहरु त्यहाँबाट हटेको बताएको छ । रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार सरकारी सुरक्षाकर्मीहरु अहिले पनि शबरगान शहरमा रहेकोले तालिवानी लडाकुहरुलाई सरकारी सेनाले छिट्टै त्यहाँबाट हटाउने दावी गरेका छन् ।

तालिवानी लडाकुले ग्रामीण क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि पछिल्लो समय उनीहरुले शहरी क्षेत्रलाई पनि आफ्नो कब्जामा लिन प्रयत्न गरिरहेका छन् । यसैक्रममा उनीहरुले तीन दिन अघि अर्थात् शुक्रबार जारान्ज र शनिबार शबरगान प्रान्तीय शहरलाई नियन्त्रणमा लिएको हो ।
अफगानिस्तानबाट विदेशी सेना हट्ने निश्चित भएसँगै तालिवानी लडाकुहरुले आफ्नो प्रभाव बिस्तार गर्न थालेका हुन् । अमेरिकीसहितका विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेका बेला तालिवानी लडाकुहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गदै गरेका छन् । यसले अफगानी सरकारी सेनाका लागि ठूलो चुनौती बनेको छ ।

अफगानिस्ताको पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरुलाई तालिवानीहरुले निरन्तर दबाब दिंदै आएका छने । सरकारी सेनालाई ती शहरहरुमा आफ्नो पकड राखिराख्न निकै समस्या भैरहेको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय दूत डेब्रा लायन्सले त्यहाँ जारी युद्ध नयाँ घातक र बिनासकारी चरणमा प्रवेश गरेको भन्दै चिन्ता प्रकट गरेकी थिइन् । गएको महिना मात्रै एक हजार भन्दा धेरै सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघीय दूत डेब्राले बताएकी छन् ।

अफगानिस्तान गम्भीर विपद र विनास तर्फ उन्मुख भएको भन्दै संयुक्त राष्ट्रसंघीय दूत डेब्राले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले शहरी क्षेत्रमा भएका आक्रमण तत्काल रोक्नका लागि वक्तव्य जारी गर्नु पर्नेमा जोड दिएकी थिइन् । अफगानी पूर्व उप–राष्ट्रपति अब्दुल रशिद दोतुस्मको प्रभाव क्षेत्र भएकोले उनका समर्थकहरु पनि तालिवानी लडाकुहरुको विरुद्धमा युद्धमा होमिएको बताइएको छ । उनीहरुले सरकारी सुरक्षा दस्तालाई सहयोग गर्न १ सय ५० जनाभन्दा धेरै शहरमा आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिवानी लडाकुले अस्ति शुक्रबार मात्रै गभर्नरको कार्यालयको परिशर नियन्त्रणमा लिएका थिए । तर त्यसलाई स्थायी रुपमा तालिवानीहरुले नियन्त्रणमा राख्न सकेनन् । सरकारी सुरक्षा दस्ताले तालिवानी लडाकुहरुलाई त्यहाँबाट हटाउन सफल भएको थियो । यद्यपि, हिजो शनिबार भने पुनः तालिवान लडाकुले पूरै शहर आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना लैजानेक्रम बढेसँगै त्यहाँ तालिवानीहरुले आफ्नो प्रभाव विस्तार गर्दै लगेको छन् । अफगानिस्तामा रहेका बाँकी अमेरिकी सेनाले त्यहाँको सरकारी सेनालाई हवाई आक्रमणमा भने सहयोग गर्दै आएको छ ।