काठमाडौं – कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताउनुभएको छ ।

भूटानले दिएको तीन लाख डोज खोप आज बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार दुई लट गरेर ल्याइने उहाँले बताउनुभयो । जापानबाट आउने १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोड अष्ट्रेजेनेकाको खोप अभियान शुरु गर्न लागेको डा. गौतमले बताउनुभयो । उहाँका अनुसार साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खामा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई लगाइने छ । साथै प्रदेश १ र २ मा भने खोप अभियान केही ढिला शुरु हुने उहाँले बताउनुभयो ।

गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । कोभिशिल्ड भारतको सेरम इन्स्टिच्यस्टले विकास गरेको खोप हो । कोभिशिल्डको पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइए पनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उहाँहरुले दोस्रो डोज लगाउनबाट वञ्चित हुनुभएको थियो ।