टोकियो– जापानको टोकियोमा जारी ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म चीनले ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक जितिसकेकोे छ ।

अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिका २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक जितेर दोस्रो स्थानमा छ भने आयोजक राष्ट्र जापान भने २१ स्वर्ण, सात रजत र १२ कास्य जितेर तेस्रो स्थानमा रहेको छ । यसैगरी पदक तालिकामा बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौं स्थानमा रहेको छ ।
यसैगरी रुस १४ स्वर्ण, २१ रजत र १८ कास्यसहित छैटौं स्थानमा छ । पदक तालिकामा जर्मन नौ स्वर्ण, आठ रजत र १६ कास्य, फ्रान्स छ स्वर्ण, १० रजत र नौ कास्य, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौं स्थानमा रहँदा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौं कास्यका साथ पदक तालिकाको १० औं स्थानमा रहेको छ ।

यो तथ्याङ्क जापानामा चालु ग्रीष्मकालिन टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले मात्र पदक प्राप्त गर्न सफल भएका छन् । नेपालले तीन खेलमा राष्ट्रिय कीर्तिमान बनाएर प्रतियोगिता बाहिरिसकेको छ ।