लन्डन – बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेकोे तथ्याङ्क अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार पुगेको छ । हिजो बुधबारमात्रै बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक सय १९ जनाको मृत्यु भएको छ । योसँग त्यहाँ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार पुगेको हो ।

सङ्क्रमणकारण गत हप्तामात्रै ५ सय ७० जनाको मृत्यु भएको थियो । पछिल्लो एक सातामा मात्रै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ दशमलब ५ प्रतिशतले बृद्धि भएको छ । यो पछिल्लो चार महिना यताकै उच्च मृत्यु हो । विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत, मेक्सिको र पेरु छन् भने बेलायत छैटौं स्थानमा पर्दछ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ५९ लाख ५२ हजार ७५६ पुगेको तथ्याङ्क छ । त्यहाँ पछिल्लो २४ घण्टामामात्रै थप २९ हजार ३१२ जनामा सङ्क्रमण पुष्टिभएको छ । यो अघिल्लो दिनको भन्दा ८ हजारले धेरै हो ।

बढ्दो कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न बेलायतमा १६ देखि १७ वर्ष उमेर समूहलाई खोप दिने तयारी गरेको छ । बेलायतमा कोरोना विरुद्धको खोप वितरण गर्ने कार्यलाई तीव्रता दिएसँगै १६ देखि १७ वर्ष उमेरकालाई पनि खोप दिन लागिएको हो । हप्ता दिनभित्रै सो उमेर समुहलाई खोपको पहिलो मात्रा लगाउन लागिएको ‘जोइन्ट कमिटी अन भ्याक्सिन एण्ड इम्युनाइजेशन (जेसीभीआई) ले जनाएको छ ।

यो उमेर समूहका करिब १४ लाख किशोर किशोरीहरु लाभान्वित हुनेछन् । उनीहरुलाई फैजर बायोएनटेकको खोप दिइनेछ । बेलायतमा हालसम्म ८ करोड ५६ लाख ६१ हजार ३ सय ६७ डोज खोप वितरण भइसेको मध्ये चार करोड ६९ लाख २८ हजार ३३ जनाले खोपको पहिलो मात्रा र तीन करोड ८७ लाख ३३ हजार ३ सय ३४ जनाले खोपको दुवै मात्रा लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।