काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको हो ।

आज लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका छन् । जलविद्युत समूहको परिसूचक ५ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ । बुधबार जलविद्युत बाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो रह्यो । अन्य समूहको परिसूचक भने घटेको छ । आज कुल २ सय २५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

आज कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रह्यो । आज एक दर्जन कम्पनीको मूल्य सर्किट स्तरमा बढेको छ । अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी सहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बुधबार सबैभन्दा बढी गुमाउने कम्पनीमा भने ङ्याग्दी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, पोखरा फाइनान्स लगायत कम्पनी छन् । यस दिन सबैभन्दा बढी कारोबार भने अपि पावर कम्पनीको भएको छ ।