काबुल–अफगानिस्तानमा हिंसा भड्किदैं जाँदा उच्च सुरक्षा व्यवस्था रहेको रक्षा मन्त्रीको घरमा बन्दुकधारीहरुले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी चारजनाको मृत्यु भएको जनाइएको छ । काबुलस्थित अफगानी रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा बेलुका करिब ८ बजेको समयमा आत्मघाती कार बम विष्फोट भएको थियो । उक्त आक्रमणमा परी ११ जना गम्भीर घाइते भएका र उनीहरुलाई इटालियन मेडिकल च्यारिटी इमर्जेन्सीको स्वास्थ्य उपचार केन्द्रमा लगिएकोे समाचारमा जनाएको छ ।

अफगानिस्तामा पछिल्लो हप्तादेखि तालिवानी लडाकुहरुले सशस्त्र सङ्र्घषलाई तिब्र बनाउँदै लगेका छन् । यसैक्रमा रक्षा मन्त्रीको घरमा आक्रमण भएको छ । हतियारधारी जत्थाले मन्त्रीको घरमा आक्रमण गर्दा रक्षामन्त्री बिस्मिल्लाह घरमा नरहेको समाचारमा जनाइएको छ । उक्त घरमा विद्रोहीहरुले कार बम बिस्फोट गराउनुको साथै अन्धाधुन्द गोली चलाएका थिए । रक्षा मन्त्रीको घरमा भएको आक्रमणमा चारजनाको ज्यान गएको सुरक्षा अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

सरकारी सुरक्षा घेरामा रहेका रक्षा मन्त्री बिस्मिल्लाहको परिवारलाई त्यहाँबाट सुरक्षित रुपमा निकालिएको र आक्रमणकारीहरुलाई मारिएको सुरक्षा दस्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अफगानिस्तानका प्रमुख शहरहरुमा सरकारी सेना र तालिवान लडाकुबीच भीषण भिडन्त भैरहेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले दुवै पक्षलाई तत्काल हिंसा अन्त्य गर्न आह्वान गरेको छ । तर पनि अफगानिस्तानमा सरकारी सेना र विद्रोही तालिवानी लडाकुबीच भिडन्त भैरहेको छ । अमेरिकी विदेश मन्त्रालयले अफगानी रक्षा मन्त्रीको घरमा भएको आक्रमण तालिवान आक्रमणको सम्पूर्ण सङ्केत रहेको बताएको छ । यता आक्रमणपछि रक्षा मन्त्री बिस्मिल्लाहले ट्वीट गर्दै सबै कुरा राम्रो रहेको र चिन्ता नलिन अपिल गरेका छन् ।