चिनियाँ राष्ट्रिय सञ्चारले युवामाझ अति लोकप्रिय ‘अनलाइन गेमिङ’ लाई ‘इलेक्ट्रोनिक ड्रग्स’ अर्थात विद्युतीय लागू औषधको नाम दिएपछि देशका दुई सबैभन्दा ठूला गेमिङ फर्मको शेयरमा ठूलो गिरावट आएको छ । टेनसेन्ट र नेटइजको शेयर हङकङमा मात्र १० प्रतिशतले घटेको हो । यस्तोमा लगानीकर्ताहरु सरकारले गेमिङ फर्मलाई निशाना बनाइरहेकामा अधिक चिन्ता जनाइरहेका छन् ।

पछिल्लो समय चिनियाँ सरकारले प्रविधि र निजी शैक्षिक संस्थाहरुमा आफ्नो पकड थप बलियो पार्न विभिन्न कडा नीतिहरु लागु गरिरहेको छ । राष्ट्रद्वारा सञ्चालित ‘इकोनोमिक इन्फर्मेसन डेली’ मा प्रकाशित लेखमा विशेषगरी किशोरावस्था समूह अनलाइन गेमिङको लतमा नराम्ररी फस्दा यसले भयानक असर पारिरहेको उल्लेख गरिएको छ । सो समाचार आउटलेट सिन्ह्वा न्युजसँग प्रत्यक्ष आबद्ध रहेको छ । टेनसेन्टको अत्यन्तै लोकप्रिय गेम, ‘अनर अफ किङ्स’ विद्यार्थीले दैनिक आठ घण्टासम्म खेल्ने गरेको ठहर गर्दै गेमिङ उद्योगमा कडाइ अपनाउन भनिएको छ ।

यसमा लेखिएको छ, “कुनैपनि उद्योग, कुनैपनि खेल एउटा पूरै पीढीलाई नै विनाश गर्ने किसिमले विकसित हुन पाउनु हुँदैन ।” यसको प्रतिक्रियामा टेनसेन्टले बालबालिकाहरुमा ‘अनर अफ किङ्स’ गेमको पहुँच कम गर्न र तिनले बिताउने समयलाई नियन्त्रण गर्न उपयुक्त तरिका ल्याउने बताएको छ । कम्पनीले यसका साथै अन्य गेमहरुमा पनि अब छिटै नयाँ नीति लागु गर्ने योजना बनाइरहेको जानकारी दिएको छ ।

यस विषयमा ठूलै विवाद भएपछि इकोनोमिक इन्फर्मेसन डेलीले चिनियाँ सामाजिक संजाल प्लेटफर्म वीच्याटको आफ्नो अकाउन्टबाट उक्त लेख डिलिट गरेको छ । यसपश्चात् कम्पनीको शेयर मूल्यमा थोरै सुधार देखिएको थियो । यसअघि पनि सरकारले म्युजिक लाइसेन्सिङ सम्बन्धी विश्वस्तरीय सम्झौता अन्त्य गर्न निर्देशन जारी गरेपछि टेन्सेन्ट कम्पनीको शेयरमा यस्तै गिरावट देखिएको थियो ।

केही समय यता चीन, हङकङसहित अमेरिकामा रहेका चिनियाँ प्राविधिक कम्पनीहरुमा समेत सरकारले कडाइ अपनाइरहेको हुँदा सबैतिरको शेयर भाउ प्रभावित भएको छ । यसका साथै निजी शैक्षिक संस्थाहरुमा पनि सरकारले छापा मारिरहेको छ । चीनमा निजी ट्युटरिङ क्षेत्र मात्र १२० अर्ब डलर बराबरको रहेको छ । त्यसैले बालबालिका हुर्काउने आर्थिक भार कम गर्ने मनसायले सरकारी निकायहरुले पुराना नीतिहरु विस्तार गरिरहेका छन् । यसअघि चिनियाँ जन्मदर सात दशक यताकै कम रहेको पाइएपछि सरकारले यसतर्फ सबैको ध्यानाकर्षण गराउँदै गम्भीर चिन्ता व्यक्त गरेको थियो । – बीबीसी