बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने ८० सांसदमध्ये ३४ जनाको हस्ताक्षरसहित विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो । उहाँले तत्काल उपलब्ध ३४ सांसदहरुको हस्ताक्षर प्रदेश सभामा लगेर अविश्वासको प्रस्ताव दर्ता गरेको बताउनुभयो ।

प्रदेश सभाका ८० सांसदमध्ये मुख्यमन्त्री पोखरेलको पक्षमा नेकपा (एमाले)का ३८ सांसद छन्। सांसद विमला वलीले माओवादी त्यागेर एमाले प्रवेश गरेको भनेपनि प्रदेश सभाबाट त्यसको टुङ्गो लाग्न बाँकी छ । विपक्षमा काङ्ग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक सांसद छन् ।