काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप लगाउन लागिएको छ । जसअन्तर्गत एक लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा खोप लगाउन पाउने । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने प्रमुख खड्काले जानकारी दिए । काठमाडौंस्थित जनस्वास्थ्य कार्यालयले बताएअनुसार यसअघि साउन १४ देखि १८ गतेसम्म काठमाडौंमा एक लाख ८० हजार पाँच सय ३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका छन् । आज पनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैगरी अत्यावश्यक सेवामा कार्यरत पेशागत कर्मचारीहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामङ्गल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन जारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।