काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालको सहारा लिंदै अन्तर्राष्ट्रिय क्रिकेटबाट आफुले सन्यास लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ, तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन् भनि उल्लेख गरेका पूर्वकप्तान खड्काले ‘मैदान भित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौं भन्ने विश्वास लिएको छु’ भनेका छन् ।


उनले भनेका छन्, ‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पु¥याउनेछौँ ।’

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा अलराउन्डर खड्काले सन् २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी सम्हालेका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका पारसकै प्रेरणामा नेपाल अनडर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
पूर्व कप्तान पारसले आफ्नो वक्तव्यमा ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’ भनेर उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा पूरा भए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको खड्काले उल्लेख गरेका छन् ।

नेपालका लागि पारस खड्काले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित तीन सय १५ रन बनाएका छन् । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र चार अर्ध शतकसहित सात सय ९९ रन बनाएका छन् । एक दिवसीयमा क्रिकेटमा पासरले नौ विकेट तथा टी–२० मा आठ विकेट लिन सफल भएका थिए ।