काबुल– अफगानिस्तामामा सरकारी सेना र तालिवानी लडाकुबीच भिषण युद्ध भएको छ । तालिवानी लडाकुहरुले पछिल्लो समय अफगानिस्ताका मुख्य शहरहरु कब्जा गर्ने रणनीति अनुरुप सशस्त्र विद्रोहलाई तिव्रता दिंदै आएको छ । ग्रामीण क्षेत्रमा तालिवानी लडाकुहरुले आफ्नो कब्जा जमाएपछि अब उसले मुख्य शहरी क्षेत्रमा आफ्नो पकड विस्तार गर्ने प्रयास गरिरहेको छ । सोही क्रममा सरकारी सेना र तालिवानी लडाकुहरुबीच दोहोरो भीडन्त भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबिच युद्ध भइरहेको हो ।

अफगानिस्तामा रहेका अमेरिकी र नेटोका सैन्य दस्ता अफगानिस्तान छोड्ने भएपछि तालिवानी विद्रोहीहरुले आफ्नो आक्रमणलाई तिव्रता दिन थालेका छन् । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिकहरु फिर्ता लैजान थालेपछि तालिवानको गतिविधि बढेको हो । तालिवानी लडाकुहरुले ग्रामीण क्षेत्रलाई आफ्नो कब्जामा लिएता पनि उनीहरुले अहिलेसम्म कुनैपनि प्रान्तको राजधानीलाइ आफ्नो नियन्त्रणमा लिन सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार लश्कर गाह तालिबानको नियन्त्रणमा जाने पहिलो प्रान्तीय राजधानी बन्ने सम्भावना देखिएको छ ।

अहिले त्यहाँ अमेरिकी र अफगानी सेनाले हवाई आक्रमण गरिरहेको भए पनि लश्कर गाहमा तालिवानी बिद्राहीले प्रत्याक्रमण गर्दै आएका छन् । दोहोरो भिडन्तका कारण उक्त शहरबाट हजारौं मानिसहरु सुरक्षित स्थान खोज्दै भागेर ग्रामीण क्षेत्रमा पुगेको समाचारमा जनाइएको छ । अहिले तालिवानी लडाकुहरुले लश्बर गाहसहित तीन प्रान्तीय राजधानीलाई निशाना बनाइरहेका छन् । तालिवानले उक्त शरहमा रहेको एक टेलिभिजन स्टेशन आफ्नो कब्जामा लिएको दाबी गरेको छ । हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमाको सबै क्षेत्रमा भिडन्त भइरहेको स्थानीय अस्पतालमा कार्यरत चिकित्सकले बीबीसीलाई बताएका छन् । तालिबान लडाकुको सामनाका लागि सयौँ सैनिक परिचालित छन् ।

हेल्मण्ड प्रान्त अमेरिकी तथा बेलायती सैनिकको अभियानको प्रमुख क्षेत्रमा पर्छ । हेल्मण्ड प्रान्तलाई तालिवान लडाकुहरुले आफ्नो कब्जामा लिएको खण्डमा अफगानी सरकारका निम्ति यो ठूलो चुनौती हुनेछ । लश्कर गाहमाथी तालिवानी लडाकुहरुले कब्जा जमाउन सफल भएमा सन् २०१६ यता सरकारको नियन्त्रणबाट बाहिर जाने पहिलो प्रान्तीय राजधानी हुनेछ । पछिल्ला महिनाहरुमा तालिबानले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको छ ।

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहरलाई नियन्त्रणमा लिने प्रयासमा तालिवान लडाकुले भिडन्त गरिरहेका छन् । चारदिन अघि शनिबारको दिन भएको रकेट आक्रमणमा कान्दाहरको विमानस्थल निशानामा परेको थियो । दक्षिणी शहर कान्दाहरसँगै तालिबानले पश्चिमी शहर हेरातलाई पनि कब्जामा लिन आक्रमणलाई तिव्रता दिइरहका छन् । त्यहाँ पनि सरकारी सेना र तालिवानी लडाकुहरुबीच दोहोरो भिडन्त भैरहेको समाचारमा जनाइएको छ । सरकारी सैनिकले तालिवानी विद्रोहीहरुको आक्रमणलाई रोक्न नसकिरहेका बेला अफगानिस्तानी राष्ट्रपति अश्रफ घानीले यसमा अमेरिका दोषी रहेको आरोप लगाएका छन् । जबकी अमेरिकाले राष्ट्रपति घानीलाई नै समर्थन गर्दै आइरहेको छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजाने घोषणा गरेपछि तालिवान बिद्रोहीले ग्रामीण क्षेत्र कब्जामा लिएको शहरी क्षेत्रमा कब्जा जमाउन लागेको राष्ट्रपति अश्रफ घानीले आरोप लगाएका छन् । उनले संसदमा भनेका छन्, ‘अहिलेको हाम्रो अवस्थाको कारण एकाएक लिइएको सैनिक फिर्ता गर्ने निर्णय हो ।’ राष्ट्रपति घानीले अमेरिकालाई सैनिक फिर्ता लैजानुको गलत परिणाम हुने चेतावनी दिएको बताएका छन् ।

अधिकांश अमेरिकी सैनिक फिर्ता भइसके पनि अमेरिकाले अफगान सैनिकको सहयोगमा हवाई आक्रमण भने जारी राखेको छ । अफगानिस्तामा अझै एक हजार जति अमेरिकी सेना रहेका छन् । उनीहरुले अफगानी सेनालाई हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । सोमबार रातभर लश्कर गाहमा त्यस्तो आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैक्रममामा अफानिस्तानमा बढ्दै गएको हिंसालाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले सोमबार थप एक हजार अफगान शरणार्थी लैजाने घोषणा गरेको छ । अमेरिकी सैनिकलाई सहयोग गरेका अफगान नागरिकहरुलाई शरणार्थीका रुपमा अमेरिकामा शरण दिन लागिएको बताइएको छ । पाकिस्तानसँगको सीमा क्षेत्रको बजार नियन्त्रणमा लिने क्रममा तालिवानी विद्रोहीहरुले सर्वसाधारणको हत्या गरेर युद्ध अपराध गरेको अमेरिका र बेलायतले आरोप लगाएका छन् । सोही क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले स्वीकार गर्न नसकिने घटनाहरुको खबर आएको दावी गरेका छन् ।