रुपन्देही – केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफू एमालेमा रहेको बताउनुभएको छ । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उहाँले यसअघि आफू नेकपा माओवादी केन्द्रमा रहने बताउँदै आउनुभएको थियो । सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख समक्ष पेस गरिएको निवेदनमा समेत उहाँलाई गणना गरिएको छ ।

दाङबाट निर्वाचित प्रदेशसभा सदस्य वलीले आफू सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको बताउनुभएको छ । नेकपाबाट निर्वाचित वलीले केही महिनाअघि आफू माओवादीमा रहने बताउनुभएको थियो । यसअघि १९ वैशाखमा आफ्नो खुशीले माओवादी केन्द्र रोजेको भन्दै विज्ञप्ति निकाल्नु भएको उहाँले सोमबार एमालेमा रहेको भन्दै विज्ञप्ति निकाल्नुभएको छ ।

विज्ञप्तिमा उहाँले भन्नुभएको छ–‘मैले सूर्य चिन्हबाट चुनाब जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’