सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुङ्ग्रे बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्ग्रे बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो । उहाँले जोखिम कायमै रहेकाले सजग रहन आग्रह गर्नुभएको छ ।

बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ । बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । – रासस