वीरेन्द्रनगर – सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ’सुसाइड नोट’ समेत लेखेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार ’सुसाइड नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।

डिएसपी घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झुण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको थप अनुसन्धान भईरहेको छ ।’ मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही छैन । घटनास्थलमै पुगेका एक प्रहरी अधिकारीका अनुसार, हामीले कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा फेला पार्यौँ ।