तेहरान– गत बिहीबार इजरायलले आफ्नो तेल ट्याङ्कमाथि भएको आक्रमणमा इरानको सम्लग्नता रहेको भनिरहेको बेला महाशक्ति राष्ट्र अमेरिका र बेलायतले पनि सो आक्रमणमा इरानकै सम्लग्नता रहेको आरोप लगाएका छन् । इजरायलले यसअघि बिहीबार उक्त घटनामा इरानको सम्लग्नता रहेको भन्दै आरोप लगाएको थियो । लण्डनमा रहेको कम्पनी जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट (तेल बोक्ने पानी जहाज) मा भएको आक्रमणमा चालक दलका एक बेलायती र एक रोमानियन नागरिक मारिएका थिए । उक्त घटना अरेबियन सागरको ओमन कोस्ट नजिकै भएको थियो ।


बेलायती विदेश मन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै एक वा त्यो भन्दा बढी ड्रोनको प्रयोग गरेर इरानले ट्याङ्करमाथि आक्रमण गरेको हुन सक्ने बताएका छन् । इरानले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको बेलायती विदेश मन्त्री डोमिनिक भनाई छ । सोही सन्दर्भमा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले पनि उक्त आक्रमणमा इरानको संलग्नता रहेकोे बताएका छन् । सो घटनाको उपयुक्त जवाफ दिइने पनि उनले भनेका छन् ।


इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले बक्तव्य नै जारी गर्दै सो आक्रमणमा इरानको संलग्नताको प्रमाण रहेको भनेपछि अमेरिका र बेलायतले पनि इरानको सम्लग्नता रहेको आरोप लगाएका हुन् । इजरायलका विदेश मन्त्री यायर लेपिडले शुक्रबार इरानमाथि आतङ्कवादको आरोप लगाएका थिए । उनले इजरायलका लागि मात्रै नभएर इरान विश्वकै लागि समस्या रहेकोले यसतर्फ विश्व समुदाय चुप बस्न नहुने भनेका थिए । इरानले भने यो आक्रमणमा आफूमाथि लगाइएको आरोप आधार हिन र मिथ्या रहेको भन्दै आएको छ ।