काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।

छानविन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपानेसहित तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागितामा भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणबारे छलफल भएको छ ।

बैठकमा खोप व्यवस्थापन तथा नयाँ भेरियन्टसहितको तेस्रो लहरको सम्भावनालाई दृष्टिगत गरी सङ्क्रमण रोकथाम नियन्त्रण र उपचारका लागि तयारी अवस्थामा रहन तथा स्वास्थ्य संस्थाको सुदृढीकरण गर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिइएको छ । बैठकले सबै सेवाप्रदायक निकायहरूमा सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेरमात्र कार्यालयमा प्रवेश गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । – रासस