रङ्गुन– म्यानमार(बर्मा) को सेना प्रमुख मिन आङ हिलाइङले आफुलाई देशको प्रधानमन्त्री घोषणा गर्दै सरकार गठन गरेका छन् । उनले आगामी आम निर्वाचन नहुँदासम्मका लागि आफ्नो नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । स्टेड एडमिनिस्ट्रेसन काउन्सिलको उप–प्रमुखमा भाइस सिनियर जनरल सोइ विन रहने छन् । म्यानमारमा दुई वर्षपछि अर्थात् सन् २०२३ मा आम निर्वाचन गरिने प्रधानमन्त्री बनेका सेना प्रमुख हिलाइङ्ले बताएका छन् ।


प्रधानमन्त्रीको जिम्मेवारी समेत लिएका सेना प्रमुख मिन आङ हिलाइङले सन् २०२३ को अगष्टसम्ममा स्वतन्त्र र धाँधली रहित आम निर्वाचन भइसक्ने घोषणा गरेका छन् । म्यानमारमा केही महिनाअघि निर्वाचित सरकार अपदस्थ गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । काउन्सिलले गत महिना मात्र २०२० को नोभेम्बरमा तल्लो र माथिल्लो सदन दुवैमा आङ साङ सु की नेतृत्वको पार्टीले प्राप्त गरेको बहुमत बदर गरेको थियो । सेनाले जननिर्वाचित सरकारलाई अपदस्थगरी सत्ता आफ्नो हातमा लिएको भन्दै जनताले ठूलो विरोध गरेका थिए । सैनिक शासनको विरुद्धमा त्यहाँका जनता सडकमा उत्रिंदा सेनाको कारवाहीमा धेरै नागरिकले ज्यान गुमानुको साथै हजारौं नागरिकहरु सेनाको कारवाहीका कारण घाइते भएका थिए ।


म्यानमारमा प्रजातन्त्र फर्किएको करिब १० वर्षपछि सेनाले फेरी सत्ता हातमा लिएको हो । सेनाले प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि त्यसको विरोधमा जनता सडक सङ्घर्षमा उत्रिने क्रममा ठूला ठूला प्रदर्शनहरु भएका थिए । सोही क्रममा त्यहाँ ९ सयभन्दा धेरैको ज्यान गएको र हजारौं नागरिकहरु घाइते भएको बताइएको छ ।


सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, राष्ट्रपति विन मिन्ट लगायत देशका वरिष्ठ सरकारी अधिकारीहरुलाई गिरफ्तार गरिएको थियो । उनीहरु सबै अहिले पनि म्यानमार सैनिक सरकारको थुनामा रहेका छन् । हिजो प्रधानमन्त्री घोषणा गरेका सेना प्रमुख मिन आङ हिलाइङले सन् २०२० मा भएको निर्वाचन निकै धाँधली भएकोले सत्ता हातमा लिएको बताउँदै आगामी आमनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने बताएका छन् । त्यहाँ करिब एक वर्ष पहिले आङसाङ सुकीको सरकारले रिङ्गा समुदायमाथि ज्यादती गर्दै देश निकाला समेत गरेको थियो । म्यानमारमा विगत लामो समयदेखि आन्तरिक राजनीति द्वन्द्व चर्किदै आएको छ ।