चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या बढेकोले यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको अधिकारीहरुले जनाएका छन् । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो फेब्रुअरीदेखि जुनसम्मको अवधिमा भेटिएका सङ्क्रमितको संख्या बराबर हो ।

राष्ट्रिय स्वास्थ कमिसन (एनएचसी) का प्रवक्ता मि फेन्गले आइतबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– ‘अहिले फैलिरहेको डेल्टा भेरिएन्ट हो । यसले भाइरसको रोकथाम र नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ, ।’ यसअघि शनिबार मात्रै विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले डेल्टा भेरियन्टको नियन्त्रणका लागि विश्वभरका सरकारहरुलाई सजग रहन आग्रह गरेको थियो । अन्यथा, यो भयावह बन्नसक्ने खतरा पनि डब्ल्युएचओले औल्याएको थियो ।

भारतमा पहिलोपटक देखिएको डेल्टा भेरियन्ट अहिले विश्वका १ सय ३२ देशमा फैलिसकेको छ । ‘डेल्टाले खतराको घण्टी बजाइरहेको छ । यसले भाइरस परिवर्तित भइरहेको संकेत गर्छ र यो नै ठोस कदम चाल्नुपर्ने समय पनि हो । अन्यथा भाइरस भयावह रुपमा फैलनसक्छ,’ डब्ल्युएचओका इमर्जेन्सिज डाइरेक्टर माइकल रायनले पत्रकार सम्मेलनमा भनेका थिए ।

नान्जिङ क्लस्टर
सुरुवातमा कोरोना भाइरसको रोकथाममा चीन सफल देखिएको थियो । त्यसयता, धेरै महिनापछि अहिले फेरि चिनियाँ सीमाभित्र स्थानीयस्तरमा भाइरसको संक्रमण देखिएको हो । देशभर देखिएका कुल संक्रमणमध्ये २ सय ६० जना संक्रमित पूर्वी जियान्सु प्रान्तस्थित नान्जिङ शहर आसपासका छन् । यहाँ २० जुलाईमा विमानस्थलमा काम गर्ने नौ जना सरसफाई कर्मचारीहरुमा संक्रमण देखिएको थियो ।

नान्जिङको कुल ९२ लाख जनसंख्याले दुईपटक कोरोना परीक्षण गरिसकेको छ । तर, संक्रमणको भय देखिएपनि फेरि यो प्रान्तका धेरै इलाका र त्यसमा बस्ने हजारौं मानिस लकडाउनमा छन् । – एजेन्सी