चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शैया भरिएका छन् ।

अस्पतालले अहिले कोभिडका लागि १ सय १० शैया छुट्याएको छ । तीमध्ये अहिले १ सय ४ शैया सङ्क्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या १ सय १२ पुगेको थियो । अहिले अस्पतालमा १ सय ४ सङ्क्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको पौडेलले बताउनुभयो । पच्चीस एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् । अस्पतालमा २५ शैया क्षमताको सघन उपचारकक्ष छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा सङ्क्रमित बढ्दै गएको बताउनुभएको छ । उहाँले अस्पतालको शैया भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले बताए अनुसार, ’अस्पतालमा कोभिडका लागि छुट्याइएको शैया भरिएको छ । अरु सङ्क्रमितलाई भर्ना लिनसक्ने अवस्था छैन ।’

अस्पतालमा रहेका शैया सङ्क्रमितले भरिएपछि शैया थप गर्ने विषयमा छलफल सुरु भएको उहाँको भनाइ छ । उहाँले सङ्क्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरूले पनि कोभिडको उपचार गर्नुपर्ने बताउनुभयो । ’महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुप¥यो,’ उहाँले भन्नुभयो । सङ्क्रमित बढ्दै गएसँगै चिकित्सकहरूलाई शैया मिलाइदिनका लागि फोन आउन थालेको उहाँको भनाइ छ ।

अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २ सय १० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचारकक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ ।

यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचारकक्षमा उपचाररत छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २ सय ३६ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये दुई हजार १ सय ६ होम आइसोलेशनमा, आठ सार्वजनिक आइसोलेशनमा र १ सय २२ जना अस्पतालमा उपचाररत छन् । – रासस