टोकियो– जापानले आयोजना गरेको टोकिया ओलम्पिकको चालु संस्करणमा भएको फुटबलको प्रतिस्पर्धाको सेमिफाइनलमा ब्राजिल र मेक्सिको भिड्ने पक्का भएको छ । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिललाई यस पटक पनि स्वर्ण पदकको दावेदार टिम मानिन्छ । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । फाइनल प्रवेशका लागि ब्राजिलले आगामी मङ्गलबार मेक्सिकोसँग भिड्ने पक्का भएको छ ।


यसैगरी शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । आयोजक जापानले स्पेनको सामना गर्ने भएको छ । निर्धारित समयको खेलमा गोल नभएपछि जापानले टाइब्रेकरमा न्यूजिल्याण्डलाई ४–२ को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यता सेमिफानलको यात्रा पक्का गर्ने क्रममा स्पेनले पनि अतिरिक्त समयमा आइभरी कोस्टलाई ५–२ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै सेमिफाइलनमा स्थान बनाएको हो ।


जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् ।