फाइल तस्विर

काबुल— अफगानिस्तानमा सरकारी सेना र बिद्रोही तालिवानी लडाकुबीच पुनः दोहोर भिडन्त हुन थालेको छ । सरकार र तालिवानी बीचको द्वन्द्वले अफगानिस्तान छिया छिया बन्दै गएको छ । अफगानिस्तानका दक्षिण तथा पश्चिमी क्षेत्रका मुख्य तीन शहर हेरात, लश्कर गाह र कान्दाहरमा सरकारी सेना र तालिवान लडाकुबीच दोहोरो भिडन्त भैरहेको छ ।

तालिवानी लडाकुहरुले अफगानिस्तान सरकारलाई अपदस्थ गरी पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिन खोजिरहेका छन् । अफगानी जनता तालिवान लडाकु र सरकारी सेनाको भिडन्तको चपेटामा पर्दै आएका छन् । तालिवानी लडाकुले सरकारी सेनाबाट खोसेर ती शहरहरु आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । ति तीन शहर कब्जामा लिने प्रयासमा तालिवान लडाकुहरु सरकारी सेनासँग युद्ध गरिरहेका छन् ।

शान्ति स्थापना गर्ने नाममा विगत लामो समयदेखि अमेरिकी र नेटोका सैनिकहरु अफगानिस्तानमा रहँदै आएका थिए । आगामी सेप्टेम्बरको अन्यसम्ममा अमेरिकी सेनालगायत अधिकांश विदेशी सेना फिर्ता हुने घोषणासँग भएसँगै तालिवानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र रुपमा बिस्तार गरेको छ । यसले शहरी क्षेत्रमा पनि आफ्नो पकड विस्तार गर्ने प्रयास गरिरहेको छ । त्यहाँको सरकारी सेनाले देशका मुख्य शहरहरु आफ्नो नियन्त्रणमा राखिरहेको छ । तालिवानी विद्रोहीहरुले ति शहरहरु नियन्त्रणका लागि पटक पटक प्रयास गर्दै आएका छन् । तालिवानी लडाकुलाई नियन्त्रणमा लिन सरकारी सेना सफल देखिंदैन । त्यहाँ सरकारी सेनाले बिद्रोही विरुद्ध गर्ने कारवाहीले अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चिन्ता र चासो बढ्न थालेको छ ।

विदेशी सेनाको आडमा रहेको अफगानिस्तानको सरकारी सेनाले तालिवान लडाकुको आक्रमणलाई कतिसमय रोक्न सक्छ भन्ने पनि चासो बढ्न थालेको समाचारमा जनाइएको छ । इरान र पाकिस्तानसँगको प्रमुख सीमा क्षेत्रसहित ग्रामीण क्षेत्रमा तालिवानले आफ्नो नियन्त्रणमा लिइसकेका छन् । त्यसैले अफगानिस्तानको आधा क्षेत्र तालिवानले आफ्नो नियन्त्रणमा राखिसकेको छ ।

यतिखेर सरकारी र तालिवानीबीचको दोहोरो भिडन्तका कारण कान्दाहर शहरबाट हजारौं जनता सुरक्षा खोज्दै बिस्थापित भैरहेका छन् । लश्कर गाहमा तालिबान बिद्रोहीहरु शनिबार गभर्नरको कार्यालयबाट केही सय मिटर पर मात्रै थिए । तर रातको समयमा उनीहरुलाई पछि हटाउन सरकारी सेना सफल भएको छ । अफगान सेनाका कमाण्डरले तालिबानको पक्षमा आफूहरुले शुक्रबार ठूलो क्षति गर्न सफल भएको बताएका थिए ।

अमेरिकाले आफ्ना सैनिक अगस्टको अन्त्यसम्ममा पूर्ण रुपमा फिर्ता गर्ने बताएको छ र सो अनुसार काम पनि भइरहेको छ । यस्तै नेटो अन्तर्गतका विदेशी सैनिकहरु पनि सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन् । तालिवानले आफ्नो नियन्त्रण बढाउँदै लगेकोले अफगानिस्तानमा आगामी दिन झन भयावह हुने देखिन्छ । सरकारी पक्षका सेना र तालिवानी लडाकुबीचको दोहोरो भिडन्तले अफगानिस्तामा अहिलेसम्म लाखौं मानिसले अकालमा ज्यान गुमाइ सकेको छन् । दशकदेखि द्वन्द्वमा फसेको अफगानिस्ताको अवस्था दयनीय बन्दै गएको छ । त्यहाँ थप द्वन्द्व भड्किने खतरा देखिएको छ ।