काठमाडौं – दार्चुला घटनाको बारेमा चार कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महाचिव मोहन वैद्य ’किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ’आहुती’ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको बताएका छन् ।

गत शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमाथि बनेको तुइन फुत्काउँदा दार्चुलाको ब्यास गाउँपालका–२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । चार कम्युनिस्ट पार्टीले उनको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिन नेपाल सरकारसँग माग गरेको छ ।

’यो घटनामा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न दोषीलाई यथाशिघ्र कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सकारसँग हामी चार पार्टी जोडदार माग गर्छौँ’ विज्ञप्तिमा भनिएको छ ।