काठमाडौं – कोरोना बीमाको तोकिएको रकम निकासी गर्न सरकारले ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक सङ्घको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् ।

सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाख यता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गर्दै आएका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगित गरिएको सङ्घले बताएको छ । सङ्घका कार्यकारी सदस्य तथा एनएलजी इन्स्योरेन्सका सीईओ सुनीलवल्लभ पन्तले कोरोनाको दाबी भुक्तानी हाललाई स्थगन गरिएको बताउनुभयो ।

सरकारले प्रतिबद्धता गरेअनुसार रकम निकासी नगर्दा दाबी भुक्तानी स्थगन गरिएको उहाँको भनाइ छ । एनएलजी इन्स्योरेन्सका सीईओ पन्तका अनुसार, ‘सरकारले रकम निकासी नगरेको अवस्थामा कम्पनीहरूलाई आफ्नै कोषबाट दाबी भुक्तानी गर्न समस्या भयो । कम्पनीहरूमा नगद प्रवाहको नै समस्या हुने भएपछि यस्तो निर्णय गरिएको हो, अब सरकारले रकम निकासी गरेपछि मात्र दाबी भुक्तानीको काम शुरू गरिनेछ ।’ उहाँले यस सम्बन्धमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरूको सीईओका हस्ताक्षरसहितको एक पत्र बीमा समितिमा पनि बुझाइएको बताउनुभयो । सरकारले रकम निकासी नगर्दा कोरोना बीमाको दाबी भुक्तानी स्थगन गर्नुपरेको भनेर खुलाई समितिलाई पत्राचार गरिएको उहाँको भनाइ छ ।