फाइल तस्विर

जेरुसेलम— इजरायल र इरानबीच तेल टयङ्करमाथि भएको आक्रमणलाई लिएर द्वन्द्व चर्किएको छ । इजरायलले आफ्नो तेलको ट्याङ्करमा इरानले आक्रमण गरेको आरोप लगाएको छ । तेल ट्याङ्करमा भएको आक्रमणमा परी चालकदलका दुई सदस्यको ज्यान गएको छ । उक्त आक्रमणमा पनि ज्यान गुमाउने चालक दलका सदस्यमा एक जना बेलायती र अर्का रोमानियाका नागरिक हुन् ।


इजरायली यातायात कम्पनी अयाल ओफेरको स्वामित्वमा रहेको कम्पनीले सञ्चालन गरेको ट्याङ्करमा आक्रमण भएको हो । लण्डनमा रहेको कम्पनी जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट (तेल बोक्ने पानी जहाज) मा भएको घटना अरबियन सागरको ओमन कोस्ट नजिक भएको समाचारमा जनाइएको छ । घटनाको वास्तविकताको खोजीका लागि अनुसन्धान भइरहेको आफेरले उल्लेख गरेको छ ।

यसैक्रममा इजरायली विदेश मन्त्री यायर लेपिडले इरानमाथि आतङ्कवादको आरोप लगाएका छन् । विदेश मन्त्री यायर लेपिडले इरान इजरायलका लागि मात्रै नभै विश्वकै लागि समेत खतरा भएको भन्दै यसमा विश्व समुदाय चुप बस्न नहुने विज्ञप्ति निकालेका छन् । जापानको स्वामित्वमा रहेको उक्त तेल ट्याङ्कर माथि भएको आक्रमणको बारेमा इजरायले इरानलाई दोषारोपण गरेपनि यस बारेमा इरानले कुनै प्रतिक्रिया जनाएको छैन ।