तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त आ.व.का लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६ सय ३९ विनियोजन गरिएकोमा असारमा मात्रै रु ९२ करोड ६६ लाख ८३ हजार ९ सय ८७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु नौ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ विनियोजन गरिएकोमा असारमा रु एक अर्ब १३ करोड एक लाख ४६ हजार ५ सय ४७ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ रु दुई अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ विनियोजन गरिएकामा एकै महिनामा रु ९९ करोड ३८ लाख ३३ हजार ८ सय ५३ खर्च भएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु ९० करोड ६१ लाख एक हजार विनियोजन गरिएकामा रु २० करोड ५९ लाख १० हजार ८ सय ८७ खर्च भएको भट्टराईले बताउनुभयो ।

उहाँले बताए अनुसार, “असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ, अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ ।”

कूल बजेट खर्च ८५.०४ प्रतिशत

उक्त आवमा सङ्घ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ । सङ्घतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा सङ्घतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्षभन्दा सङ्घतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्याङ्कले देखाएको छ ।

सङ्घतर्फ चालूतर्फ रु आठ अर्ब ७७ करोड ८५ लाख ४६ हजार ७६६ र पूँजीगततर्फ रु दुई अर्ब तीन करोड २० लाख एक हजार १८४ बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ रु ८० करोड १२ लाख ६३ हजार ५५२ र पूँजीगततर्फ रु दुई अर्ब २६ करोड ६९ लाख ४२ हजार ४८८ खर्च भएको कार्यालयले जनाएको छ ।

राजस्व बढ्यो

जिल्लास्थित सरकारी कार्यालयले गत आवभन्दा यस अवधिमा राजस्व सङ्कलन वृद्धि गरेका छन् । सङ्घ र प्रदेशतर्फका कार्यालयले आव २०७७/७८ मा राजस्व सङ्कलन वृद्धि गरेका हुन् । यस वर्ष रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा रु सात अर्ब ३५ करोड दुई लाख ५६ हजार राजस्व सङ्कलन भएको थियो । –रासस