चितवन – चितवन जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित रहेका छन् । गत असार १३ गते १ हजार १४ जनामा झरेको सङ्क्रमित अहिले साउन १४ मा आइपुग्दा बढेर दुई हजार ३० पुगेको हो । कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७ सय १३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेको संक्रिय सङ्क्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १ सय ९८, १८ गते १ हजार २ सय २० हुँदै असार २३ गते १ हजार २ सय ७१ पुगेको थियो । उहाँका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ सङ्क्रमित मात्र १ हजार ३४ जना थपिएका छन् ।

सङ्क्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जनले निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार, “राम्रोसँग सङ्क्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।” कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उहाँले कारोना सङ्क्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गर्नुभएको छ ।

जिल्लामा रहेका सङक्रमित मध्ये १ सय १६ जनाको अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ । कूल सङ्क्रमित संख्या २० हजार ९० पुगेको छ । जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २ सय १३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य शैयामा उपचाररत छन् । –रासस