बेइजिङ्ग – भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले भारतमा रहेका तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिलाई भेट गरेका छन् । यो भेटलाई लिएर बेइजिङ्गले कडा आपत्ति प्रकट गरेको छ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्धधर्म गुरुले बेलाबेलामा स्वतन्त्र तिब्बतको नारा उठाउँदै आएका छन् । तिब्बती समस्यालाई लिएर समय समयमा अमेरिकाले पनि प्रश्न उठाउँदै आएको छ । चीनले आफ्नो देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्न पटक पटक चेतावनी दिंदै आएको छ ।


अमेरिकी विदेशमन्त्री र तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिहरुबीच भएको भेटप्रति चीनले विशेष चासो लिएको छ । यसैसन्दर्भमा हिजो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा कडा प्रतिक्रिया दिएका छन् । प्रवक्ता झाओले ‘तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला हो र यसमा कुनैपनि विदेशी हस्तक्षेप स्वीकार गर्न सकिँदैन । चौधौं दलाई लामा एक धार्मिक मात्रै होइनन् उनी राजनीतिक रुपले निर्वासित एक व्यक्ति हुन् । जो लामो समयदेखि चीन विरोधी गतिविधिमा संलग्न छन्’ भनि कडा प्रतिक्रिया दिएका छन् ।


सोही पत्रकार सम्मेलनमा प्रवक्ता झाओले दलाई लामा तिब्बतलाई चीनबाट अलग बचाउन खोजिरहेको भनेका छन् । प्रवक्ता झाओले ‘उनी तिब्बतलाई चीनबाट अलग गर्ने प्रयासमा छन् । चीनले कुनैपनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्छ । कुनै अमेरिकी पक्ष र दलाई लामाबीचको सम्पर्क अमेरिकाले चीनसँग गरेको प्रतिवद्धताको उल्लङ्घन हो, जसमा उसले मानेको छ कि तिब्बत चीनको हिस्सा हो र उसले स्वतन्त्र तिब्बतको समर्थन गर्ने छैन ।’


अमेरिकाले तिब्बती मुद्दालाई बेलाबेलामा तरङ्गित बनाउने काम गर्दै आएको छ । अमेरिका आफुले गरेको प्रतिवद्धतामा अडिग रहनुपर्नेमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले पत्रकार सम्मेलनमा भनेका छन् । चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने भन्दै चेतावनी पनि दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत जुलाई ६ तारिखमा दलाई लामाको जन्मदिनको अवसरमा शुभकामना दिएकोप्रति पनि चीनले कडा आपत्ति प्रकट गरेको थियो । बौद्ध धर्मका गुरु दलाई लामा आफ्ना अनुयायीहरुसहित लामो समयदेखि भारतको धर्मशालामा निर्वासित जीवन विताउँदै आएका छन् । त्यहाँ तिब्बतको निर्वासित सरकार छ । उक्त निर्वासित सरकारलाई गत वर्ष अमेरिकाले औपचारिक मान्यता समेत दिएको थियो । अमेरिकाले एकातिर तिब्बती समस्यालाई उसको आन्तरिक मामिला हो भन्ने गर्दछ भने अर्को तिर तिब्बतको निर्वासित सरकारलाई मान्यता दिंदै यसैलाई संरक्षण गर्ने रणनीति अवलम्बन गर्दै आएको छ । नेपालमा पनि तिब्बती शरणार्थीहरुको बसोबास छ । उनीहरुले बेलाबखत काठमाडौंमा स्वतन्त्र तिब्बतको माग गर्दै आएका घटनाहरु पनि छन् । अमेरिका कुनैपनि रुपमा तिब्बती आन्दोलनलाई उठाउन चाहेको चीनले बेलाबखत आरोप लगाउँदै आएको छ ।