फाइल तस्बिर

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । उक्त जानकारी आएसँगै भीमफेदी कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो । उपाध्यायका अनुसार कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै पनि किसिमको लक्षण देखिएको छैन ।

कोरोना पुष्टि भएका सङ्क्रमितहरुलाई कारागारभित्रै निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार, ‘सङ्क्रमितहरुलाई छुट्टै ब्लकमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।’ उहाँले कैदीबन्दीमा कुनै स्वास्थ्य समस्या नदेखिएको पनि बताउनुभयो । जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढेको छ ।