अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ । कोरोना सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला हिजो बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन आह्वान गर्नुभएको हो ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ । अमेरिकामा डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताउनुभएको थियो ।

यसैबीच बाइडनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ खोपसम्बन्धी कडा निर्देशन जारी गर्नुभएको छ । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ ।