काठमाडौं – साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक आज १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अङ्कले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैंक भने बढेका छन् । बाँकी सबै सबइन्डेक्सहरु घटेका छन् ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । हिजो बुधबार १३ अर्ब रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा आज ११ अर्ब पनि पुग्न सकेन । दिनभर भएका १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २ सय १७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा रोकिएको छ ।