बेलायतमा गत महिना भएको जी—७ को बैठक पछि विश्व राजनीति विस्तारै तात्दै गएको छ । महाशक्ति राष्ट्र भन्ने अमेरिकाले विश्व राजनीतिमा अहिले आफुलाई पुनः स्थापित गराउन खोजिरहेको छ । विश्व अर्थ राजनीतिले पनि अमेरिका यतिखेर आफुलाइए चलायमान बनाउन बनाउन खोजिरहेको छ । विशेष गरी अमेरिका, बेलायत र युरोपेली युनियनको आँखा एसियाली देशहरु तिर नै केन्द्रीत भैरहेको छ । किन की आर्थिक दृष्टिकोणले पछिल्ला वर्षहरुमा एसियाली देशहरुले दु्रतगतिमा आर्थिक विकास गरिरहेका छन् । यसले मुख्यत विश्व अर्थतन्त्रमा अमेरिकाले आफ्नो पकड गुमाउँदै गएको छ । यसैकुरालाई मध्यनजर गर्दै अमेरिकाले विश्व अर्थतन्त्र र राजनीतिमा गुम्दै गएको आफ्नो पटडलाई कुनै न कुनै रुपबाट पुनस्र्थापित गर्न चाहिरहेको छ ।


अमेरिकी पूर्वराष्ट्रपति डोनाल ट्रम्पको कार्यकाल प्रायः विवाद मै वित्यो । उनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न त सकेनन् नै यद्यपि, विश्व अर्थराजनीतिमा समेत अमेरिकाले आफ्नो प्रभाव गुमाउँदै गयो । ठूला शक्तिराष्ट्रहरु बीच पनि अमेरिकासँगको सम्बन्ध खासै सुमधुर बन्न सकेन डोनाल ट्रम्पको पालामा । जनवरी २० तारिकदेखि जब अमेरिकी नेतृत्व जो वाइडेनले सम्हाले त्यसपछि कुनै न कुनै रुपमा अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने रणनीतिमा अमेरिका रहेको देखिन्छ ।


यसैक्रममा अमेरिकाले एकतिर चीनमाथि विभिन्न आरोप लगाउँदै आएको छ भने उसले भारतसँगको सम्बन्ध विस्तार गर्न आफ्नो विदेश मन्त्री एन्थोनी ब्लिंकेन हिजोमात्र भारतको भ्रमणमा पठाएको छ । अमेरिका र भारतका विदेश मन्त्रीबीच हिजै दिल्लीमा भेटवार्ता भएको छ । उक्त अवसरमा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र भारतीय विदेश मन्त्री एस जयशंकरबीच कोभिड–१९ महामारी, अफगानिस्तानको अवस्था तथा दुई देशबिचको हितसहितका विषयमा कुराकानी भएको छ । दुवै देशका विदेशमन्त्रीबीच विशेषगरी अफगानिस्तानको सुरक्षाका विषयमा विशेष छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यसोत भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलन गर्दै अमेरिकी विदेश मन्त्री ब्लिंकेनले भारत र अमेरिकाले अफगानिस्तानको सुरक्षाको बारेमा छलफल भएको बताएका छन् । अफगानिस्तानमा स्थिर र शान्तिपूर्ण अवस्था नै अमेरिका र भारतको चाहना रहेको विदेशमन्त्री ब्लिंकनले बताएका छन् । उनले भारतलाई आफ्नो विश्वासनीय सहयोगी रहेको समेत पत्रकार सम्मेलनमा व्यक्त गरे । विदेशमन्त्री ब्लिंकनले अफगानिस्तानमा स्थायी शान्ति र विकास ल्याउनका लागि भारतले विशेष महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भारतको प्रशंसा गरेका थिए ।
सोही पत्रकार सम्मेलनमा बोल्दै भारतीय समकक्षी जयशङ्करले पनि अफगानिस्ताको स्थिरता र स्थायित्वका लागि जोड दिंदै अफगाननिस्ताको समस्याको सैन्य समाधान नहुनेमा भारत र अमेरिका दुवै देश सहमत भएको धारणा पनि राखेका थिए । भारतीय विदेशमन्त्री जयशङ्करले अमेरिकी विदेशमन्त्री ब्लिंकेनसँग हिन्द–प्रशान्त र मध्यपूर्वको विषयमा पनि छलफल भएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । दुवै देशका विदेशमन्त्रीबीच चीनको बारेमा पनि छलफल भएको बताइएको छ । तर छलफल कुन विषयमा केन्द्रीत थियो भन्ने कुरा भने सार्वजनिक भएको छैन ।


अहिले अफगानिस्तानमा तालिवानी विद्रोहीहरुले आक्रमणलाई तिब्र बनाउने रणनीति लिएका छन् । अघिल्लो हप्तामात्रै अफगानी सरकारले काबुल सहित दुई प्रान्त बाहेकका प्रान्तमा कर्पmु लगाएको थियो । तालिवानी विद्रोहीहरुले अफगानिस्तानबाट विदेशी सेना हट्नु पर्ने माग गर्दै आइरहेको छ । अमेरिकी सैनिकले अगस्टको अन्तिममा अफगानिस्तान छोड्दै छन् । अमेरिकीसहित नेटो सैनिकले छोड्दै गर्दा अफगानिस्तानमा तालिबानको पकड बिस्तार हुँदै गएको छ । तालिवान विद्रोहीले अफगानिस्तानमा शान्ति स्थापना गर्ने हो भने वर्तमान राष्ट्रपतिले पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका छन् । अफगानी राष्ट्रपतिलाई भने अमेरिकी सरकारको पूर्ण साथ र समर्थन रहँदै आएको छ ।


यसैबीच अमेरिकी विदेशमन्त्री र भारतको भ्रमणमा निस्किएसँगै अफगानिस्तानका तालिवानी नेता मुल्ला बरादर पनि चीनको भ्रमणमा निस्केका छन् । उनले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका छन् । अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र अफगानिस्तानका तालिवानी नेताको चीन भ्रमणले विश्व राजनीतिमा एक खालको तरङ्ग पैदा गरेको छ । विश्व राजनीति ध्रुबीकरणको दिशातर्फ उन्मुख हुन खोजे हो कि भन्ने पनि आशङ्का सिर्जना गरिदिएको छ । यद्यपि, चीन र अफगानिस्तानका बीच अहिलेसम्म कुनै खास लगानी भएको आधिकारिक रुपमा केही देखिएको छैन । भावी दिनका लागि चिनिया लगानी र सहकार्यका लागि तालिवानी नेतासँगको भेटले त खासै अर्थ राख्ने देखिंदैन ।
अफगानिस्तानबाट अमेरिकी र नेटोका सैनिकहरु बाहिरिंदै गर्दै तालिवानी नेताहरु चीनको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ । चिनियाँ विदेश मन्त्री वाङ्ग यीले तालिवानलाई अफगानिस्तानको ‘प्रमुख सैन्य तथा राजनीतिक शक्ति’ भनेका छन् । यसैबीच चीनको विदेश मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा विदेश मन्त्री यीले तालिबान नेतासँग राजनीतिक समूह र आतङ्ककारी संस्थाबीचको स्पष्ट रेखा कोर्न आग्रह गरेको उल्लेख गरिएको छ ।


अमेरिका अफगानिस्तानबाट तालिवानी विद्रोहीलाई निमूर्ल पार्न चाहन्छ । तर तालिवानले यतिबेला चीनको भ्रमण गरेर आफ्नो पक्षमा रहेको सङ्केत गर्न चाहेको हो कि भन्ने अर्थ पनि लाग्न सक्दछ । यसले विश्व राजनीतिलाई नै पर्ख र हेरको अवस्थामा पुर्याएको छ । यसले चीन र अमेरिका बीच शक्ति सन्तुलनमा दरार पैदा हुन सक्ने अवस्था नआउन भन्न सकिन्न । किन की अस्तिमात्रै अमेरिकी उप विदेशमन्त्रीले चीनका विदेशमन्त्रीसँगको भेटलाई लिएर उक्त भेट प्रतिफलयुक्त नभएको टिप्पणी गरेकी थिइन ।