काठमाडौं – काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भएता पनि सो अवधिभित्र राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व विभागले असार १५ गते ३० दिनको म्याद दिई आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रपर्टिज प्रालि, स्टार मललगायतलाई घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसै गरी, एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कुल, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताललगायतलाई पनि घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सो अवधिमा एनआरटी क्लब र काठमाडौं इञ्जिनियरिङ कलेजबाहेक अन्यले सम्पर्कसमेत नगरेको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिनुभयो । तोकिएको अवधिका कर तिर्न नआएपछि महानगरले बुधबार माइकिङ गरी सचेत गराउँदै घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्नेसम्बन्धी सूचना टाँसेको छ ।