काठमाडौं– काठमाडौंको नारायणटारबाट महानगरीय प्रहरी वृत बौद्धले पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभएको छ । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँचजनालाई पक्राउ गरेको हो ।

हिजो बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो । जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ । रासस