काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १ सय ७७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । दैनिक नयाँ सङ्क्रमितको यो संख्या गत मार्चयताकै सबैभन्दा धेरै हो ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले शुक्रबारबाट सहरमा लकडाउन खुकुलो पार्नु सम्भव नरहेको बताउनु भएको हो । अहिले थपिएको लकडाउनको नियम एक महिनाको लागि अझै कडा बनाइएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया र साउथ अष्ट्रेलियामा लगाइएको लकडाउन भने आजबाट हटेको छ । कोरोना महामारीको अधिकांश समय अष्ट्रेलियामा सङ्क्रमितको संख्या तुलनात्मक रुपमा निकै कम देखिएको थियो । त्यसका लागि सरकारले सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्नेलगायतका व्यवस्था गर्दै सङ्क्रमण नियन्त्रण गर्दै आएको छ । यद्यपि पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिएसँगै अष्ट्रेलियामा सङ्क्रमणको दर बढेको हो ।

जानकारहरुले यो लकडाउन सेप्टेम्बर वा अझै परसम्म पनि जान सक्ने अनुमान लगाएका छन् । सङ्क्रमणदर शून्यको हाराहारीमा नपुग्दासम्म लकडाउन खोल्न नसकिने अधिकारीहरुले बताएका छन् ।