काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिएपछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने राष्ट्र बैंकले बताएको छ । यसरी सङ्कलन हुने निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ । यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि प्रयोग गर्न सकिनेछ । यो निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नु पर्ने शर्त राष्ट्र बैंकले तोकेको छ । यसैगरी निक्षेप सङ्कलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकताका क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।