फाइल तस्वीर

कास्की – पोखराका पर्यटन व्यवसायीहरुले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई भेटेर कोभिड–१९ विरुद्धको खोपको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् । पर्यटन व्यवसायीहरुले हिजो अर्थमन्त्री बराललाई मन्त्रालयमा भेटेर करिब पाँच हजार खोपको ब्यवस्था मिलाउन सकेको अवस्थामा पोखराको पर्यटन ब्यवसाय तङ्ग्रिने जानकारी गराएका हुन् । व्यवसायीको गुनासो सुनेपछि अर्थमन्त्री बरालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि व्यवसायीले माग गरेको पाँच हजार खोप व्यवस्थापन गर्न आवस्यक पहल गर्ने बताउनु भएको छ ।

उहाँले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि आवश्यक पहल गर्ने आश्वाशन पर्यटन व्यवसायीलाई दिनुभएको छ । उहाँले व्यवसायिक जिवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाई राहत दिन आग्रह गर्नुभयो । मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको राहतका लागि व्यवसायिक जीवन रक्षा कोषको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यति वेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं,जनताको आवश्यकताको आधारमा प्रथामिकता निर्धारण गरेर आवश्यक सहयोग गर्ने पक्षमा सरकार रहनेछ ।’

परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले पहिलो चरणमा होटल तथा रेष्टुरेण्टसहितका मजदुर एवं व्यवसायीलाई ५ हजार कोरोना विरुद्धको खोप आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसायीक जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्नुभएको छ । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ बर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालिकालाई पुनर्तालिकीकरणका लागि पर्यटन व्यवसायीहरुले प्रदेश सरकार समक्ष माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याइने मौद्रिक नीतिमा आगामी आर्थिक बर्ष २०७८÷०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यबस्था मिलाउन समेत अनुरोध गरिएको भट्टराईले बताउनुभयो । पर्यटन व्यवसायीहरुले यो वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गर्दै पदमार्ग संरक्षण र पर्यटकीय गन्तव्यको संरक्षणमा ध्यान दिन समेत माग गरेका छन् ।