वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड– १९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री शाहीले आव २०७६/०७७ को तुलनामा ३३.३३ प्रतिशतले खर्च प्रगति बढेको जानकारी दिनुभयो ।

प्रदेश सरकारको कार्य सम्पादनको प्रभावकारिता एवं बजेट कार्यान्वयनको प्रगति क्रमशः वृद्धि हुँदै गएको भन्दै सरकारका सबै निकायमा क्रियाशील राजनीतिक तथा प्रशासनिक नेतृत्व एवं समग्र राष्ट्रसेवक कर्मचारीलाई उहाँले धन्यवाद दिनुभयो । समीक्षा कार्यक्रमार्फत शाहीले चालू आवको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो ।

आ.व २०७७/७८ मा चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख ३२ हजार, पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार गरी कूल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट विनियोजन गरिएको थियो । प्रदेश सरकारले चालूतर्फ ८ अर्ब ५१ करोड ४२ लाख ७५ हजार, पूँजीगततर्फ १३ अर्ब ५९ करोड ४४ लाख २० हजार गरी जम्मा खर्च २२ अर्ब १० करोड ८६ लाख ९६ हजार (६५.५२ प्रतिशत) गरेको समीक्षामार्फत जनाइएको छ ।

प्रदेश सरकारले ३२ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा ५० करोड सङ्कलन गरेको, कोभिड–१९ महामारीको प्रतिकूल अवस्थामा समेत ३३.३३ प्रतिशत बजेट खर्च वृद्धि गरेको, स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत कूल बजेटको १० प्रतिशत रकम हस्तान्तरण गरिएको भन्दै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार निर्माणअन्तर्गत २१ किलोमिटर सडक कालोपत्र, एक हजार १३६ किलोमिटर सडक ग्राभेल, ७५८.२ किलोमिटर कच्ची सडक निर्माण, ११ वटा झोलुङ्गे पुल, सातवटा सडक पुल निर्माण सम्पन्न गरिएको बताउनुभयो । – रासस