काबुल– देशबाट विदेशी सेना बहिर्गमन हुनेक्रमसँगै अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्र बनाउन थालेका छन् । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले आफ्नो कब्जामा लिन गरेको प्रयास असफल भएको छ । यद्यपि, तालिवादीहरुले सो सहर कब्जा गर्ने प्रयास भने गरिरहेको समाचारमा जनाइएको छ । दुई हप्ता अघिमात्रै अफगानिस्तानबाट विदेशी सेना नहटे परिस्थिति थप जटिल हुने भन्दै तालिवानीले चेतावनी दिंदै आएको थियो ।

तालुकान सहरमा तालिवानीहरुमाथि जवाफी कारवारी हुँदा २८ जना मारिएको कुरा त्यहाँको सरकारी स्रोतले जानकारी गराएको समाचार एजेन्सीले जनाएको छ । सरकारी सेनाका प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतङ्ककारीहरूले तालुकान सहरलाई विभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकु विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकु मारिएका छन् ।
सरकारी सेनाले गरेको यो कारबाहीको बारेमा तालिवानी पक्षले कुनै टिप्पणी गरेको छैन । तालिवान लडाकुले तखार प्रान्तका १६ वटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट दुई सय ४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान सहर कब्जा गर्न आक्रमण गरिरहेको समाचारमा जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धर्ना दिंदै आएका छन् । उनीहरुले केन्द्रीय सरकारलाई तखारको सुरक्षाका लागि थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा, प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ । तालिवानी प्रवक्ताले चार दिन अघिमात्रै राष्ट्रपतिले सत्ता नछोड्दासम्म अफगानिस्तानमा शान्ति बहाली नहुने बताएका थिए । अफगानी राष्ट्रपतिलाई अमेरिकी सरकारको पूर्ण समर्थन रहेको छ । रासस÷सिन्ह्वा