काठमाडौं –साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने तेस्रो दिन आज मङ्गलबार २९ दशमलव २४ अङ्कले बढेको नेप्से परिसूचक ३०७९ दशमलव ६७ अङ्कमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च बिन्दु हो ।

यसअघि आइतबार नेप्सेले उच्च विन्दु छोएको थियो सो दिन ३०५८ दशमलव ६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । आज मङ्गलबार बजार सुरु हुनासाथ उच्च अङ्कले घटेको बजार अपरान्हपछि भने सम्हालिएको थियो । अन्तिम एक घण्टा भने बजार बढ्न थालेको थियो । हिजो सोमबार ३०५० दशमलव ४२ अङ्कमा रोकिएको बजारमा सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विभिन्न निर्देशनले आज सो क्षेत्रमा भने केही प्रभाव पारेको छ ।

साताको तेस्रो दिन आज बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ । तर, लगानीकर्ता भने उत्पादन तथा प्रशोधन र जलविद्युतमा झुम्मिएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ७४ र जलविद्युत समूहको परिसूचक ३ दशमलव ७५ प्रतिशतले बढेको छ । आज कुल २ सय २५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भयो । यी कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर किनबेच भएको छ । आज कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १४ कम्पनीको मूल्य सर्किट लेवलमा बढ्यो । धेरै कमाउनेमा मल्टीप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डभलपर्ससहितका कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घट्नेमा रहेको छ ।